तमलोपा र सद्भावनाबीच एकीकरण हुने संकेत

68

काठमाडौँ, २० असार – तराई–मधेस केन्द्रित दलको आन्दोलन केही सेलाइरहेका बेला तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीबीच एकीकरणको चर्चा भने चुलिएको छ ।

दुई पार्टी एकीकरणपछि महतोलाई कार्यकारी अध्यक्ष दिनेसम्मको आन्तरिक सहमति भएको बुझिएको छ । ‘हाम्रो मुद्धा मधेसलाई कसरी संवृद्ध बनाउने भन्ने हो,’ तमलोपाका पूर्वमहामन्त्री सर्वेन्द्रनाथ शुक्लले भने, ‘एकीकरणका लागि अनौपचारिक छलफल भएका छन्, तर कसलाई कुर्सी दिने र कसलाई कुर्सीबाट हटाउने भन्ने पूर्वसर्तसहितका वार्ता भएका छैनन् र त्यस्ता वार्ता हुँदैनन् पनि ।’

शुक्लले भर्खरै सम्पन्न पार्टीको महाधिवेशनबाटै विचार मिल्ले पार्टीसँग एकता गर्ने एजेण्डा पारित गरेको स्मरणसमेत गराए । ‘हाम्रो महाधिवेशनबाटै विचार मिल्ले पार्टीसँग एकता गर्ने भन्ने एजेण्डा सर्वसहमतिबाट पारित गरेका छौँ,’ उनले भने, ‘सद्भावनासँग मात्र होइन तराई–मधेस केन्द्रित सबै दलसँग एकता गर्ने हाम्रो प्रयास छ ।’

उनले असार अन्तिमसम्म मोर्चाले तय गरेका आन्दोलनकै कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले त्यो बेलासम्म एकीकरणका बारेमा धेरै दौडधूप नगर्ने जानकारी पनि दिए । ‘अहिले अनौपचारिक हिसावले कुराकानी भैरहेको छ,’ उनले भने, ‘हामी एकीकरणको टुंगोमा पुगेपछि वार्ता कमिटी बनाउने, संरचनाका बारेमा छलफल गर्ने जस्ता कुरालाई प्राथमिकतामा राख्ने छौँ ।’

चुनाव चिन्ह, पार्टीको नाम आदिका बारेमा पनि त्यसैबेला छलफल हुने उनले जानकारी दिए । उनले साउनपछि पार्टी एकीकरणको गृहकार्य गर्नसक्ने संभावना रहेको पनि जानकारी दिए ।

यता सद्भावनाका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले भने एकीकरण आवश्यक भए पनि तत्काल कुनै छलफल नभएको जानकारी दिए । ‘मधेसका मुद्दालाई मजबुद बनाउनुपर्छ भन्ने मेरो पनि मान्यता हो,’ उनले भने, ‘सबैले मिल्नुपर्छ पनि भन्नुभएको छ, तर, तत्काल त्यो विषयमा केही पनि कुराकानी भएको छैन ।’

कर्णले कुनै पनि छलफलमा आफु सहभागी नभएको भन्दै त्यो बारेमा जसले जानकारी दियो उसैसँग सोध्न सुझाव दिए । स्रोतका अनुसार मधेस आन्दोलनमा उपेन्द्र यादव र उनी निकट संगठन हावी हुँदै गएको भन्दै यी दुई पार्टी एकीकरणको अभियानमा जुटेका हुन् ।