बजेट चाँडो पारित गर्न एकै दिन १३ वटा मन्त्रालयको छलफल

85

काठमाडौँ, १९ असार – व्यवस्थापिका संसद्मा ९ वटा मन्त्रालय र चार वटा कार्यालयको बजेटमाथि एकैपटक छलफल सुरु भएको छ।

व्यवस्थापिका संसद्मा आइतबार विभिन्न ९ वटा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमाथि एकीकृतरुपमा छलफल सुरु भएको हो।

संसद्मा आइतबार स्थानीय विकास, परराष्ट्र, सहरी विकास, उर्जा, आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा समाजकल्याण, सहकारी तथा गरिबी निवारण र रक्षा मन्त्रालयको बजेटमाथि छलफल भएको छ। छलफलमा ती सबै मन्त्रालयका मन्त्री भने सहभागी थिएनन्।

बजेट चाँडो पारित गर्ने योजना भएका कारण एकैदिन १३ वटा मन्त्रालय र कार्यालयको बजेटमाथि छलफल सुरु गराइएको संसद् सचिवालयले जनाएको छ ।