सर्लाहीको हरिवनमा झडप, १५ जना घाइते

160

सर्लाही, २१ असार – सर्लाहीको मुर्तियामा सुकुम्बासी र प्रहरीबिच झडप भएको छ । झडपमा आठ जना प्रहरी र सात जना सुकुम्बासी घाइते भएका छन् ।

सागरनाथ वन विकास परियोजनामा भएको अतिक्रमण खाली गर्ने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो । सुकुम्बासीले परियोजनाको जग्गामा लगाएको मकै फाँड्ने क्रममा झडप भएको हो ।

त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरि परियोजनाको सरकारी जग्गा अतिक्रमण गरेर लगाएको मकै फाँड्ने काम भैरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । सुकुम्बासीहरुले मकै फाँड्न गएका प्रहरीलाई ढुंगा हानेका थिए । भीड तितरबितर पार्न प्रहरीले केही शेल अश्रु ग्याँस प्रहार गरेको छ ।

मूर्तियामा सागरनाथ वन विकास परियोजनाको २५ सय हेक्टर जमिन अतिक्रमण भैरहेको परियोजनाका प्रमुख ज्ञानेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँले अब सबै अतिक्रमण खाली गरेर वृक्षारोपण गरिने बताउनु भएको छ । सर्लाहीका जिल्ला वन अधिकृत नरेश ठाकुरले अहिले अतिक्रमण गरेर लगाएको बालीनाली नष्ट गर्ने र बर्खापछि घरटहरा हटाइने बताउनुभयो ।

सुकुम्बासीले भने जबरजस्ती बल प्रयोग गरेर आफूहरु माथी दमन गरेको गुनासो गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सहसेक्रेटरी कमल सुसलिङले प्रशासनले सुकुम्बासीमाथि आक्रमण गरेर बालीनाली नष्ट गरेको आरोप लगाउनुभयो ।