पर्सामा एकजनाले पनि पाएन आमाको नाममा नागरिकता

444

वीरगंज, २२ असार – जिल्ला प्रशासन कार्यालयले वंशज, र अङ्गीकृत नागरिकता मात्रै प्रदान गर्दै आएको प्रजिअ केशवराज घिमिरेले बताएका छन् । उनले वंशज र अङ्गीकृत नागरिकता लिएका व्यक्तिका सन्तानलाई नागरिकता वितरण भइरहेको बताए । प्रजिअ घिमिरेले जन्मसिद्ध र आमाको नाममा नागरिकता दिने काम पर्सा जिल्लाबाट नभएको जानकारी गराएका छन् ।

प्रजिअ घिमिरेले संविधानमा वंशज, अङ्गीकृत, जन्मसिद्ध र आमाको नाममा नागरिकता पाउने प्रावधान भए पनि सो सम्बन्धी कानुन निर्माण नभएकोले जन्मसिद्ध र आमाको नाममा नागरिकता वितरण नगरिएको प्रस्ट्याए । उनले संविधान जारी भएको मितिले एक वर्ष भित्र कानुन बनिसक्नुपर्नेमा अहिले संसद्मा यो विधेयक विचाराधीन रहेको बताएका छन ।

विधेयक पारित भएर नागरिकता ऐन २०६३ मा संशोधन गरी कानुन नबनुन्जेल संविधानमा उल्लेख भए पनि जन्मसिद्ध र आमाको नाममा नागरिकता पाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । आमाको नाममा नागरिकता वितरण भएकोबारे जिज्ञासा राख्दा उनले अदालतमा मुद्दा गरेकाहरूको हकमा भएको निर्णयको आधारमा मात्र उजुरीकर्ताहरूले आमाको नाममा नागरिकता पाएको बताए । पर्सा जिल्लामा भने अहिलेसम्म एकजनाले पनि आमाको नाममा नागरिकताको लागि अदालतमा उजुरी गरेको छैन ।

जिल्ला प्रशासन कार्यालयमा भने संविधान बन्नु अगाडि सयौंको सङ्ख्यामा आमाको नाममा नागरिकता पाउनका लागि आवेदनहरू परेका छन् । सयौंको सङ्ख्यामा जिल्ला प्रशासनमा आवेदन दिनेमध्ये एकजनाले पनि अदालतको ढोका ढक्ढकाएको प्रजिअ घिमिरेले जानकारी गराएका छन् ।

प्रतीक दैनिक बाट