लिपनीमा तीन दिनदेखि अन्धकार

164

वीरगंज, २२ असार – लिपनीमाल गाविसको लिपनी गाउँ विगत तीन दिनदेखि अन्धकार बनेको छ । गाउँमा विद्युत् सेवा उपलब्ध गराउने २ सय केभिएको ट्रान्सफर्मर बिग्रेपछि गाउँ अन्धकारमय बनेको हो । गर्मीको समयमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्युत् कार्यालयले खासै चासो देखाएको छैन ।

लिपनीका सन्तोष यादवका अनुसार आइतवार बिहान ७ बजे पानी परिरहेको बेला ट्रान्सफर्मर शर्ट भएर बिग्रेको थियो, जुन अहिलेसम्म बन्न सकेको छैन । यो सरासर कर्मचारीहरूको लापारवाही हो– उनले भने । विद्युत् वितरण केन्द्र वीरगंज, सबस्टेशन भलुहीमा पटकपटक फोन गरी जानकारी गराउँदा र विद्युत् सेवा सुचालू गर्न माग गर्दा पनि कर्मचारीहरूले हुन्छ–हुन्छ भनी ढाँट्ने गरेको उनी बताउँछन् ।

विद्युत् सेवा अवरुद्ध हुदाँ गर्मीमा गाउँलेहरूलाई सास्ती हुने गरेको गाउँलेहरूले बताएका छन् ।

प्रतीक दैनिक बाट