पर्साका ट्राफिक प्रमुख क्षेत्रमा तानिए

750

वीरगन्ज, २४ असार – पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक खेम आचार्य प्रहरी आचरण विपरीत कार्य गरेको अभियोगमा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा तानिएका छन् ।

सम्वद्ध स्रोतका अनुसार दुर्घटना मुद्दामा पैसा लिएको आरोपमा इन्सपेक्टर आचार्यलाई मध्य क्षेत्रका डीआइजी पशुपति उपाध्यायले छानबिनका लागि ४ दिन अगाडि झिकाएका हुन् । नाम उल्लेख नगर्ने शर्तमा एक प्रहरी अधिकृतले भने, प्रहरी संगठनको आचरण विपरित कार्य गरेकाले इन्सपेक्टर आचार्यलाई डीआइजी कार्यालयले तानेको हो ।

प्रहरी अधिकृतको नियमित सरुवा हुने हो । स्रोतको अनुसार आचरण विपरित कार्य गर्नेलाई मात्र कार्यक्षेत्रबाट डीआइजी कार्यलय झिकाउने गरिएको छ ।

झन्डै एक महिना अगाडि वीरगन्ज घन्टाघर स्थित नेपाली सेनाको कालीजंग गण अगाडि भएको मोटरसाइकल दुर्घटनामा एक वृद्ध महिला घाइते भएकी थिइन् । उपचारको क्रममा वृद्धाको मृत्यु भएको थियो । चालकसंग सवारी चालक अनुमति पत्र थिएन् । पछि लाइसेन्सधारीलाई उभ्याएर मुद्दा छिनोफानो गरी मृतक परिवारलाई ५ लाख क्षतिपूर्ति दिइएको थियो ।

लाइसेन्स नभएको व्यक्तिलाई पनि मुद्दा चलाउनु पर्ने भन्दै इन्सपेक्टर आचार्यले घूस खाने मनसाय प्रकट गरेपछि चालक परिवारले उनलाई २० हजार रुपैया बुझाएका थिए । घूस रकम बुझाएर त्यसको जानकारी डीइजी कार्यालयमा पनि गराएपछि आचार्य छानबिनमा परेका हुन् । चालकका बुवा सरकारी गाडी मर्मत गर्ने ग्यारेज धनि हुन् ।