नयाँ सरकार बनाउने जिम्मा प्रचण्डलाई

262

काठमाडौँ, २७ असार – नेकपा माओवादी केन्द्रको कार्यालय समितिको बैठक सम्पन्न भएको छ। सोमबार बिहान लाजिम्पाटमा बसेको बैठकले ‘राष्ट्रिय सहमति कायम गरी सहमतिको सरकार निर्माण गर्न सबैतिर पहल र निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको’ छ।

प्रवक्ता पम्फा भुषालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति एमाले लगायतका दलसँग आवश्यक छलफल र निर्णय गर्ने जिम्मा प्रचण्डलाई दिएको बताइन्। ‘तीन बुँदे कार्यान्वयनका लागि एमालेसँग छलफल गर्ने र सँगसँगै राष्ट्रिय सरकार निर्माणको निम्ति पहल गर्ने जिम्मा बैठक अध्यक्षलाई दिइयो’, उनले भनिन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहमतिको सरकार गठनका लागि जोडदार पहल गर्ने निर्णय भएको बताए।

कृषि मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सरकार हस्तान्तरणबारे नेकपा एमाले र माओवादीबीच भएको तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको बताए। ‘तीन बुँदे सहमति कार्यान्वयन गर्ने र सबैतिर छलफल अघि बढाउने जिम्मा अध्यक्षलाई दिइयो’, उनले भने।