सरकार रासन कार्ड लागु गर्ने तैयारीमा

225

काठमाडौँ, २७ असार – दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि भन्दै सरकारले रासन कार्ड लागू गर्ने तयारी थालेको छ । यसका लागि आपिूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थापन महाशाखाका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग तथा उपभोक्ता अधिकारका लागि काम गर्दै आएको संस्था कन्जुमर आइ नेपालका प्रतिनिधि सदस्य छन् ।

समितिले ३ महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने आपूर्ति  मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिए । समितिले छिमेकी मुलुकमा भएको व्यवस्था, नेपालमा रासन कार्डको आवश्यकता र औचित्य तथा कार्यान्वयनका लागि सरकारले अपनाउनुपर्ने कदमका बारेमा सुझावसहितको प्रतिवेदन दिनेछ ।

असार १ गते बसेको उपभोक्ता संरक्षण परिषद्को बैठकले रासन कार्ड लागू गर्न अध्ययन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आपूर्तिमन्त्री गणेशमान पुनले अध्ययन समिति गठन गर्ने निर्णय गरेका हुन् । छिमेकी मुुलुक भारतमा पनि रासन कार्ड लागू भएको छ । रासन कार्ड लागू भएमा उपभोत्ताले सुपथ मूल्यमा सहज रूपमा दैनिक उपभोग्य वस्तु पाउने सरकारको अपेक्षा छ ।