कैलाली घटनापछि थारुमाथि दमन भयो : एम्नेष्टी इन्टरनेशनल

160

काठमाडौँ, ४ साउन – एम्नेष्टी इन्टरनेशनले गत वर्ष कैलालीमा भएको आठ जना प्रहरी अधिकारी र एक बालकको हत्याकाण्डपछि राज्यपक्षले थारु समुदायमाथि दमन गरेको दाबी गरेको छ । मंगलबार एक प्रतिवेदन जारी गर्दै एम्नेष्टी इन्टरनेशनलले टीकापुरमा भएको उक्त घटनापछि प्रहरीले हत्या आरोपमा पक्राउ परेका थारु समुदायमाथि अनावश्यक दुःख, गिरफ्तारी र दमन गरेको दाबी गरेको हो ।

उक्त प्रतिवेदनमा कैलाली जेलमा रहेकाहरुसँगको कुराकानीमा जबर्जस्ती गिरफ्तार र प्रहरी यातना दिइनुका साथै लुट मच्चाइएको समेत एम्नेष्टीले आरोप लगाएको छ । एम्नेष्टीकी दक्षिण एसिया निर्देशक चम्पा पटेलले थारु समुदायले मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै प्रहरीबाट समेत प्रताडित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरेकी छिन् । प्रतिवेदनमा संघीय राज्यको सीमांकन र नयाँ संविधानको विरोध गरिरहेका हजारौँ थारुमाथि प्रहरीले अश्रुग्यास हानेको उल्लेख गरिएको छ । प्रहरीमाथि नै हत्याकाण्ड भएपछि प्रहरीले थारुमाथि तीव्र दमन गरेको एम्नेष्टीको ठहर छ ।

कस्टडीमा लगिएका १९ जनामध्ये १८ जनाले एम्नेष्टीका प्रतिनिधिसँग प्रहरीले नियन्त्रणमा लिइसकेपछि यातना दिएको बताएको एम्नेष्टीले जनाएको छ । त्यसमध्ये एक जनाले आफूलाई प्रहरीले नियन्त्रणमा लिनासाथ जिल्ला प्रहरी कार्यालयमा बेहोस नहुँदासम्म कुटपिट गरेको एम्नेष्टीसँग बताएको उल्लेख गरिएको छ । यातनाका क्रममा बाँसको लौरो, बुट, हात, लठ्ठी, प्लाष्टिकका पाइपले कुटपिट भएको उसले प्रतिवेदनमा उल्लेख गरेको हो ।

त्यसैगरी एम्नेष्टीले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर जबर्जस्ती उक्त हत्याकाण्डको जिम्मा लिन हस्ताक्षर गराएको समेत आरोप लगाएको छ । एम्नेष्टीले त्यसरी दमन नगर्न नेपाली अधिकारीहरुसँग अनुरोध समेत गरेको छ । त्यस्तै उसले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको सम्मान गर्नसमेत आग्रह गरेको छ ।