नेपालद्वारा एमसीसीलाई २ सय १८ रनको चुनौती

272

काठमाडौँ, ४ साउन – ऐतिहासिक लर्डस क्रिकेट मैदानमा पहिलो पटक उत्रिएको नेपाली क्रिकेट टोलीले मेरीलिबोन क्रिकेट क्लब एमसीसीसामु २ सय १८ रनको चुनौती प्रस्तुत गरेको छ ।

१ सय ७४ रन जोड्दा ७ विकेट गुमाएको स्थिति सम्हाल्दै बसन्त रेग्मी र सोमपाल कामीले आठौं विकेटका लागि ४२ रनको साझेदारी गरेपछि नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनको मध्यम योगफल तयार पारेको हो । कामी २० रनमा रनआउट भए भने रेग्मी २४ रनमा नटआउट रहे ।

टस जितेर ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो हुन सकेन । १८ रन जोड्दा अनिल मण्डललाई ब्यक्तिगत २ रनमा गुमाएको नेपालको ईनिङ्स कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले उकासेका हुन् । मल्ल ३९, खड्का ३० र भेषावकर २७ रनमा आउट भए । यस्तै सागर पुनले २६ र राजु रिजालले २४ रनको योगदान गरे । यसअघिका अभ्यास खेलमा अर्धसतक पुरा गर्दै नटआउट रहेका रिजाल आज भने क्याचआउट हुन पुगेका थिए । बिनोद भण्डारीले ९ रन मात्र जोड्न सके ।

एमसीसीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको यो पाँचौ अभ्यास खेल हो । यसअघिका सवै खेलमा विजयी नेपाल आजको खेलमा जित निकाल्दै बेलायत भ्रमण यादगार बनाउने दाउमा छ । नेपाली टोली पर्सि स्वदेश फर्केने छ ।