‘अपरेसन हन्ट’ मा परे असईदेखि डीआईजीसम्मका हाकिम

394

वीरगञ्ज,  साउन  – नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह र नक्कली प्रमाणपत्रधारीलाई कठालो समातेर कानुनको ढोकासम्म पु¥याउने प्रहरीकै नक्कली प्रमाणपत्र भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क हेर्दा अहिलेसम्म अख्तियारले तीन सयभन्दा बढी प्रहरी अधिकृतको नक्कली शैक्षिक प्रमाणपत्र फेला पारेको भन्दै मुद्दा चलाइसकेको छ । अझ कतिपय शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने तथा बढुवा हुनेहरू त कारबाहीमा परिने डरले अनुसन्धान शुरु भएलगत्तै राजीनामा दिएर भाग्दैछन् । अझै पनि थुप्रै प्रहरी अधिकारी नक्कली शैक्षिक प्रमाणपत्रधारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नक्कली प्रमाणपत्रधारीहरु सञ्जाल उच्च सरकारी तहसम्म नै पुगिसकेको छ, र यसको नियन्त्रण चुनौतीपूर्ण देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा असई देखि डीआईजीसम्मको पदका प्रहरी अधिकृतहरूको नक्कली शैक्षिक प्रमाणपत्र भएको उजुरी परेको थियो । यो अवधिमा केही प्रहरी उच्च अधिकृतहरूले त नक्कली शैक्षिक प्रमाणपत्र छानबिन हुने डरले पहिले नै जागिर छाडेका थिए । अहिले पनि केही उच्च अधिकारीहरूको शैक्षिक प्रमाणपत्र नक्कली भन्दै उजुरी परेका कारण छानबिन भइरहेको अख्तियार स्रोतको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म छानबिन गरेका आधारमा हेर्दा कर्मचारीले पेश गरेको नक्कली शैक्षिक प्रमाणपत्रमध्ये अधिकांश भारतको उत्तर प्रदेशका विभिन्न शैक्षिक निकायका छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयका समेत केही नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एक अधिकारीका अनुसार पहिले भारतको विहार लगायतका सीमा जोडिएका क्षेत्रका शैक्षिक संस्थाबाट नक्कली प्रमाणपत्र किनबेच हुन्थ्यो । तर अहिले नेपालकै विभिन्न स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह नै सक्रिय छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०६७ भदौबाट ‘अपरेसन हन्ट’ नाम दिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहविरुद्ध अभियान नै चलाएको थियो । अभियान अन्तर्गत नेपालका दुई दर्जन बढी स्थानमा छापा मारेर प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरी अनुसन्धान भन्छ – “नेपालमै नक्कली शैक्षिक प्रमाणपत्र बनाउने बेइमानहरूको मुख्य ग्राहक भनेका विदेश जानेहरू नै हुन् ।”

विदेशमा अध्ययनका लागि विद्यार्थी पठाउन बेलगाम खुलेका कतिपय शैक्षिक परामर्श केन्द्रहरूले समेत नक्कली शैक्षिक प्रमाणपत्रको दलाली गरिरहेको सम्बन्धित क्षेत्रमा काम गर्नेहरू बताउँछन् । यस्ता परामर्श केन्द्रहरूले नै जर्मनी, बेलायत, अस्ट्रेलिया, अमेरिका, क्यानाडा लगायतका अन्य देशमा सहजै जान पाउने भनेर विद्यार्थीहरूलाई परामर्श दिँदै नक्कली कागजात बनाउने धन्दावालाहरूकोमा पठाउने गरेका छन् ।