प्रचण्डलाई एमालेले सर्वसम्मत प्रधानमन्त्री बन्न नदिने

151

काठमाडौं, साउन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले सर्वसम्मत रुपमा प्रधानमन्त्री बनाउनबाट रोक्ने भएको छ ।

प्रचण्ड कांग्रेससहितको समर्थनमा प्रधानमन्त्री बन्ने निश्चित भए पनि सर्वसम्मत प्रधानमन्त्री बन्न नदिन एमाले आफ्नो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार खडा गर्ने भएको छ ।

एमाले संसदीय दलका नेता तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नउठ्ने भएपछि दलका उपनेता सुभाष नेम्वाङलाई नै प्रधानमन्त्री बनाउने पक्का भएको हो । एमालेका युवा नेता रविन्द्र अधिकारीले सोमवार रिपोटर्स क्लबको साक्षात्कारमा दलका नेता ओली प्रधानमन्त्रीमा नउठ्ने पक्का भएपछि उपनेता नेम्वाङ प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताए ।

अधिकारीले अहिलेको अवस्थामा बहुमतीय सरकारबाट मुलुकले निकास नपाउने दाबी गर्दै सहमति नै आवश्यक भएकोमा जोड दिए । संविधान कार्यान्वयन र तीन वटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नका लागि सहमति आवश्यक भएको उनको भनाइ छ ।

लोकमानले संसदलाई छले

एमाले नेता अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले संसदलाई पनि छल्ने काम गरेको आरोप लगाए । एक दुईवटा राम्रो काम गरेको बहानामा संसदलाई छल्ने काम गर्न नमिल्ने उनको भनाइ छ ।

उनले ब्यक्तिलाई नभई संस्थालाई बलियो बनाउनुपर्ने बताए । विरामी भएको बहानामा संसदलाई छल्ने काम गर्न नहुने उनको भनाइ छ । कार्कीका सम्बन्धमा संसदमा हुने छलफलमा आफूहरुले पनि भाग लिने उनले जानकारी दिए । अख्तियार प्रमुख कार्की भने संसदीय समिति र संसदले बोलाउँदा समेत संसदमा उपस्थित भएका छैनन् ।