जिशिअको कक्षमा तालाबन्दी, जिशिअ सिंह भन्छन्, निजि बिद्यालयले मलाई टेरेन

658

वीरगंज, साउन – संयूक्त बिद्यार्थी सञ्जाल समिती पर्साले बिहिवार जिल्ला शिक्षा कार्यालय पर्साका प्रमुखको कक्ष र लेखाफाँटमा तालाबन्दी गरेको छ । बारम्बार ताकेता गर्दा पनि जिल्लाका निजी बिद्यालयहरुको बिवरण उपलव्ध नगराएपछि सञ्जालले दिउसो तालाबन्दी गरेको हो । यसअघि साउन ५ गते जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारी रामबिनय सिंह र सञ्जालवीच भएको वार्तामा साउन २० गते जिल्लाका सबै निजी बिद्यालयहरुको बिवरण उपलव्ध गराउने प्रतिवद्धता गरेका जिशिअ सिंहले आनाकानी गरेको भन्दै तालावन्दी गरेको सञ्जालले बताएको छ ।

बिद्यालयहरुको विवरण उपलव्ध नभएसम्म तालाबन्दी जारी रहने सञ्जालका संयोजक तथा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य प्रभाकर गुप्ताले बताए । ‘बारम्बार ताकेता गर्दा पनि कुनै सुनुवाई नभएपछी बाध्य भएर ताालबन्दी गरेका हौ,’ उनले भने – ‘बिवरण दिन्छु भनेको दिन जिशिअ सिंह बिदा लिएर बस्नुले उनको नियतमा शंका उब्जाएको छ ।’ जिल्लाको शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यमा जिल्ला शिक्षा कार्यालयले नै असहयोग गर्नु बिडम्बनापुर्ण रहेको उनको भनाई छ । छात्रवृत्ती, भर्ना तथा मासिक शुल्क लगायतमा भइरहेको मनोपोली बिरुद्ध बिद्यार्थीहरुले आवाज उठाएको सञ्जालका सदस्य तथा समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवालले बताए ।

13918666_1164932376898949_1586749922_o

जिल्लाको शिक्षाको स्तर उकास्नका लागि उठाएका मुद्दालाई सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या सृजना भएको वर्णवालले प्रतिकृया दिए । ‘बिद्यार्थी र अभिभावकमाथि भइरहेको अन्यायको बिरुद्ध बिद्यार्थीहरु एकजुट भएका हौ,’ उनले भने – ‘हामीले उठाएका मागहरु सुनुवाई गर्न आलटाल गरीयो भने हामीले सहने छैनौ ।’ सञ्जालका सदस्य तथा मधेसी विद्यार्थी फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष अमित यादवले जिशिअ सिंहको रवैयाले सञ्जाललाई तालाबन्दी गर्न बाध्य बनाएको बताए ।

यता जिल्ला शिक्षा अधिकारी सिंहले भने आफुँ बिरामी भएर बिदामा बसेको बताएका छन् । सञ्जाललाई निजी बिद्यालयहरुको बिवरण उपलव्ध गराउन नसक्नुबारे उनले भने – ‘हामीले निजी बिद्यालयहरुलाई पत्र नै काटेर बिवरण मागेका थियौ । तर एउटा पनि बिद्यालयले आफ्नो बिवरण दिएन ।’ निजी बिद्यालयलाई ७ बुँदे पत्र नै काटेको बताउदै उनले आफुलाई निजी बिद्यालयहरुले अटेर गरेको बताए । ‘प्याब्सन, एन–प्याब्सनका पदाधिकारीसहित निजी बिद्यालयका सञ्चालकहरुसँग होटल मकालुमै बसेर बैठक गरेका थियौ,’ उनले थपे– ‘अब कारवाहीका लागि प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्छु ।’ निजी बिद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयको अधिनमा राख्न आफँु असफल भएको उनले स्विकार गरे ।

पर्साका समग्र विद्यार्थी र अभिभावकको हितका लागि आन्दोलनको थालनी गरीएको सञ्जालका संयोजक गुप्ताले बताए । ‘यो आन्दोलन बिद्यार्थी संगठनको मात्र होईन सबै अभिभावक बिद्यार्थीको हो,’ उनले भने– ‘सञ्जालको अभियानमा सबैको सहयोगको अपेक्षा गरेका छौ ।’ यो अभियान सफल भएको खण्डमा शिक्षा गुणस्तरीय हुने र त्यसमा सबैको पहुँच पुग्ने गुप्ताले बताए । सञ्जालका सदस्य रामबाबु यादव, निखिल ओझा, मधुसुधन चौरसियालगायतको उपस्थिती रहेको थियो ।