प्रधानमन्त्री, २ उपप्रधानमन्त्री र ३ मन्त्रीको सपथः यस्तो बन्यो प्रचण्ड टिम

151

काठमाडौं, साउन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

उनले सपथको ब्यहोरामा रहेको ईश्वरको नाममा उच्चारण नगरी देश र जनताको नाममा मात्र सपथ लिए। बिहीबार नै प्रधानमन्त्री प्रचण्डले सानो आकारको मन्त्रिपरिषद विस्तार गरेका छन्। कांग्रेसबाट एक जना उपप्रधानमन्त्री र एक जना मन्त्री तथा माओवादी केन्द्रबाट एक उपप्रधानमन्त्री र दुई जना मन्त्री मन्त्रिपरिषदमा सहभागी भएका छन्।

कांग्रेसबाट विमलेन्द्र निधि र माओवादी केन्द्रबाट कृष्णबहादुर महराले उपप्रधानमन्त्रीको सपथ लिएका छन्। निधिले गृह र महराले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। उनीहरुलाई पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्।

त्यस्तै कांग्रेसका नेता रमेश लेखक र माओवादीका नेताहरु दलजीत श्रीपाली र गौरीशंकर चौधरीले पनि सपथ लिएका छन्। लेखकले भौतिक पूर्वाधार तथा यातायात, श्रीपालीले युवा तथा खेलकुद र चौधरीले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

उनीहरुले पनि राष्ट्रपति भण्डारीबाट बिहीबार नै सपथ लिए।