सरकार र मोर्चाबीच वार्ता सकियो, मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा र घाइतेको उपचार गर्ने सहमति

307

वीरगञ्ज, साउन – आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा आवद्ध दलका अध्यक्षहरुसँग वार्ता गरेका छन् । वार्तामा सरकारको प्रमुख घटक काँग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए ।

मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने सहमति सहित संविधान संशोधनको बिषयमा छलफल गरेर सरकार र मोर्चाबीच सिंहदरबारमा भएको वार्ता सकिएको हो ।

प्रधानमन्त्रीको निर्वाचन अघि मधेसी मोर्चासँग माओवादी केन्द्र र काँग्रेसले ३ बुँदे सहमति गरेको थियो । त्यही सहमति कार्यान्वयनको बिषयमा आजको वार्ता केन्द्रित भएको वार्तामा सहभागी मधेसवादी दलका नेताले जानकारी दिए ।

मोर्चाको माग अनुसार मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने गरी आज मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइएको छ ।

मधेसी मोर्चाले उठाउदै आएको संबिधान संशोधनको बिषयमा पनि सरकार र मोर्चा दुवै आआफ्नो तर्फबाट तयारी गर्ने सहमति भएको छ । संविधान संशोधनको लागि गृह कार्य गर्न अनौपचारिक कार्यदल बनाएर काम गर्ने सहमति भएको बताइएको छ ।