नेविसंघ महाधिवेशन : कतै रमझम कतै अनशन

136

काठमाडौं – नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आउन दुई दिन बाँकी रहँदा अधिवेशनस्थल भृकुटीमण्डपमा चहल पहल र प्रतिस्पर्धी उम्मेदवारहरुले समर्थकको भीड अघि पछि लगाएर हिँड्ने लाइन लामै देखिन थालेको छ।

शुक्रबार साँझ भृकुटीमण्डप क्षेत्रमा कतै उम्मेदवारहरुले आफूलाई मत माग्दै हिँडेको दृष्य रमाइलो देखिन्थ्यो भने विवाद समाधान गर्न बनेको पार्टीको निर्देशन समितिले प्रतिनिधिहरुको विवाद टुंगो लगाउन नसक्दा असन्तुष्टि पोख्ने पनि त्यतिकै भेटिए। विधिवत महाधिवेशनको माग राख्दै आमरण अनशनमा बसेका गणेश सापकोटा र रत्नहरि ढुंगेलको स्वास्थ्य नाजुक बन्दै गएको छ।

अनशनरत सापकोटाकी पत्नीले पतिको जीवनरक्षाको लागि पार्टी समक्ष याचना गरेपनि निर्देशन समितिले त्यसको सुनुवाई गरेको छैन। अनशनकारीको स्वास्थ्य जटिल बन्दै गएपछि उपचारका लागि थप स्वास्थ्यकर्मीको टोली खटाएको अनशनकारीका समर्थक युवराज पाण्डेले जानकारी दिएका छन्।

निर्देशन समितिले विभिन्न जिल्ला र क्याम्पसहरुका प्रतिनिधिहरुको विवाद टुंगो लगाई शनिबारसम्म प्रतिनिधिहरुको नामावली कानुन व्यवसायी गोपालकृष्ण घिमिरेको नेतृत्वमा गठित समितिलाई बुझाइदिने तयारी भएको छ। विवादित जिल्ला र क्याम्पसको विवादको टुंगो नलागे ६४ जिल्लाको प्रतिनिधिहरुको सहभागितामा मात्र अधिवेशन सम्पन्न गर्ने निर्देशन समितिको अन्तिम तयारी छ।

नेविसंघ प्रचार समितिले अधिवेशनको प्रचार तीव्र पारेको छ। भृकटीमण्डप तुल, ब्यानर, भित्तेलेखनलगायतले सिंगारिएको छ भने नेविसंघ काठमाडौं जिल्ला समितिको समायोजनमा झण्डा, स्वगातद्वारलगायत निर्माण गरिएको छ। उम्मेदवारहरुले र उनका समर्थकहरुले ब्यानर टाँस्ने एक किसिमको प्रतिष्प्रधा चलाएका छन्। सबैले आ–आफनो समूह बनाउने कसरतमा जुटेका छन् भने पार्टी नेताहरुको आ–आफनो पक्षको समूहलाई जिताउन लागिपरेका छन्।

नौ बर्षपछि हुन लागेको महाधिवेशनमा एक सय एकाउन्न पदका लागि पाँचसय भन्दा बढीले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेको प्रचार प्रसार समिति संयोजक मोतिलाल भण्डारीले जानकारी दिए। सभापतिमा पार्टी सभापति देउवा पक्षबाट जितजंग बस्नेत, नैनसिंह महर एवं बरिष्ठ नेता पौडेल पक्षबाट मनोजमणि आचार्य, क्षीतिज भण्डारी, निलकण्ठ रिजाल, दीपक भट्टराई तथा सिटौला पक्षबाट कुन्दनराज काफ्ले र खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेत मैदानमा छन्।

आफूलाई स्वतन्त्र उम्मेदवार बताउने वाल्मिकी क्याम्पसका पूर्व स्ववियु सभापति लक्ष्मण आचार्य समेत सभापति पदमा प्रतिस्पर्धामा छन्। त्यसैगरी महामन्त्रीमा उर्मिला थपलिया, मोतिलाल भण्डारी, सरोज थापा, पुष्पकुमार शाही, रत्न कार्कीलगायत दर्जनभन्दा बढीले दाबी गरेका छन्।