हत्या जस्तो जघन्य अपराधलाई आन्दोलनसँग नजोड्न आग्रह

2255

वीरगञ्ज, साउन – मधेस आन्दोलनको क्रममा २०७२ कात्तिक १० गते बिहान ३ बजे हत्या गरिएका मृतक रामबिनेश प्रसाद कुशवाहाको परिवारले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन् । मृतकका दाई दिनेश प्रसाद कुशवाहाले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै हत्या जस्तो जघन्य तथा गम्भिर प्रकृतिको अपराधलाई पनि मधेस आन्दोलन संग जोडी अपराधीहरुलाई उन्मुक्ति दिलाउन प्रयासरत रहेको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएका छन् ।

मधेस आन्दोलनका क्रममा हत्या गरि फरार भएकाहरुलाई कथित विस्थापितलाई फर्काउने अभियानको बहानामा सरकार मार्फत कर्तव्य ज्यान मुद्दा फिर्ता लिन लागिएकोमा आपत्ति जनाएका थिए । यही सोमबार संघीय समाजवादी फोरमका पर्सा अध्यक्ष प्रदीप यादव लगायतका नेताहरुले आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता गर्न प्रजिअ केशवराज घिमिरे मार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए । स्मरण रहोस् आन्दोलन वीरगञ्ज केन्द्रीत भएपनि कुशवाहाको हत्या गाउमा गरिएको थियो ।

कुशवाहाले बिहान अध्याँरोको समयमा आन्दोलनको समय नभएको र मोटरसाईकलबाट पेट्रोल समेत निकाल्ने र व्यक्तिलाई हत्या गर्ने आन्दोलनकारीको काम नभएको बताउदै हत्यामा संलग्न अपराधिहरुलाई कडा सजाय दिन माँग गरेका छन् । मृतक कुशवाहा हत्या भएको दिन विहान ३ बजे मोटरसाईकलमा सवार भई दाईको ससुराली गइरहको अवस्थामा ड्राईपोर्ट परवानीपुर सडक खण्डमा पर्ने मनियारी गाबिसको टोल जगरनाथपुर (हाल वीरगंज उपमहानगरपालिका वडा नं. २५ ) नजिक रहेको गण्डक देखि १०० मिटर उत्तर मेडरोड पश्चिम तर्फ खेतमा शव बरामद भएको थियो । जगरनाथपुरका अमर प्रसाद यादव समेतका अपराधिहरुले मोटर साईकलबाट तेल निकाली कुटपिट गरी निर्मम तरिकाबाट हत्या गरी फालेको प्रहरी अनुसन्धानमा देखिएको थियो । यादव हाल पुर्पक्षका लागि वीरगन्ज कारागारमा छन् ।

अदालतमा चलिरहेको मुद्दालाई जबरजस्ती राजनीतीक मुद्दाको संज्ञा दिने र मन्त्रिपरिषदबाट समेत गलत निर्णय गराउन पहल भईरहेको जानकारी पाएपछि थप पीडा थपिएको दिनेशले बताए । कुशवाहाले अपराध र आन्दोलन दुई अलग कुरा भएको र अपराधिलाई पनि आन्दोलन संग जोडी अपराधिहरुलाई उन्मुक्ति नदिन स्थानिय प्रसासन लगायत गृह मन्त्रालय, मन्त्रिपरिषदको कार्यालय र कानुन तथा न्याय मन्त्रालय सिंहदरवार काठमाडौं, मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेका मानव अधिकारकर्मी, नागरिक समाज, राजनितीककर्मी र संचारकर्मीहरुलाई न्यायको लागि आग्रह गरेका छन् ।

सो अवसरमा पिडितका बुवा देवनारायण कुशवाहा, आमा सरस्वती देवी, दाई दिनेश कुशवाहा, स्थानियबासिन्दाहरु वृजलाल यादव, रामनारायण महतो, लालबाबु यादव लगायतको उपस्थिती रहेको थियो ।