सीमाका मदिरा पसल बन्द

266

भूषण यादव, वीरगन्ज

अन्तर्राष्ट्रिय सीमाबाट ५ सय मिटरभित्र सञ्चालन भएका ६३ मदिरा पसल शुक्रबारबाट बन्द गराइएको प्रहरीले जनाएको छ । जानकीटोला, परसौनीभाटा, खेस्राहा, टिहुकी, इनर्वा, आसवारी, भिस्वा, पिडारीगुठी, छपकैया, अमरपट्टी गाविसको मदिरा पसल बन्द गराइएको हो । प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले अन्तर्राष्ट्रिय सीमाको संवेदनशीलता बुझेर ५ सय मिटर भित्रसम्म मदिरा पसल सञ्चालन गर्न नपाउने निर्णय गरिएको बताए ।

‘बेचबिखन, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाएका हौं,’ उनले भने, ‘स्थानीयको गुनासो पनि बढेको थियो । साँझ पर्ने बित्तिकै सीमामा मेला नै लाग्ने गरेको थियो ।’ बन्द गरिएका पसलहरूमध्ये ३५ वटा विहारमा प्रतिबन्ध लागेपछि खुलेको प्रहरीले जनाएको छ । गत मंगलबार भारतीय सीमाबाट ५ सय मिटर भित्रका मदिरा पसल बन्द गर्न स्थानीय प्रशासनले ३ दिनको समय दिएको थियो ।

फाइल तस्विर ःपर्साको भिषूवा बजारमा रहेको मदिरा पसल र पारी भारतीय क्षेत्रमा सुरक्षाकर्मीको पोष्ट /दस्टेट डेली
फाइल तस्विर ःपर्साको भिषूवा बजारमा रहेको मदिरा पसल र पारी भारतीय क्षेत्रमा सुरक्षाकर्मीको पोष्ट /दस्टेट डेली

भारतको विहार राज्यमा गत अप्रिल १ देखि मदिरा बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाइएपछि त्यससित सीमा जोडिएका क्षेत्रमा मदिरा सेवन गर्ने भारतीयको भिड लाग्ने गरेको थियो । पर्साको भिस्वामा अन्तर्राष्ट्रिय सीमा सुरु हुने बित्तिकै नेपाली भूभागमा दर्जनौं नयाँ पसल खुलेका थिए ।

भारतीय ग्राहक मदिरा सेवन गरेपछि होहल्ला गर्ने, चेलीबेटी जिस्क्याउने र झगडा बढेको स्थानीयको गुनासो बढदै गएको थियो । केही दिन पहिले जानकीटोला नजिकैको दसौतामा बिनाइजाजत खुलेका मदिरा पसलबाट प्रहरी उपरीक्षकले २ सय ८९ बोतल रक्सी जफत गरेका थिए । व्यापारीले यस व्यवसायलाई व्यवस्थित गरी समय निर्धारण गरेर सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

सभार  http://kantipur.ekantipur.com/news/2016-08-27/20160827091846.html बाट